पथरी : खेलको ७ औँ मिनेटमा विवेक लिम्बूले गरेको गोल निर्णायक बन्दा मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे प्रीमियर लिगमा हेरिका न्यु स्टार क्लबले पहिलो जित निकालेको छ  ।

न्युस्टारले शिखर एफ सी लाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

न्यु स्टारका कप्तान मीन धिमालले दिएको पासलाई अनमार्कमा रहेका विवेक लिम्बूले हेड मार्फत गोल गरे । सुरुवातबाटै निक्कै आक्रामक बनेको न्युस्टारले एक पछि अर्का आक्रमण गरे पनि गोल सङ्ख्या भने थप्न सकेन ।

खेलको १० औँ मिनेटमा शिखरका सुरेश गुरुङले हानेको कर्नर प्रहार गोल पोस्टबाट बाहिरियो । न्युस्टारका गोलकिपर विशाल मगर विट भएको अवस्थामा पनि गोल हुन सकेन ।

३५ औँ मिनेटमा शिखर एफसी का दिलीप धिमालको प्रहार सुरेश गुरुङले गरेको हेडले गोलको दिशा लिन सकेन । खेल निक्कै प्रतिस्पर्धात्मक भए पनि दुवै टिमले गोल गर्न नसक्दा खेल न्यु स्टारले जित्यो।

शुक्रवारको खेलको म्यान अफ दि म्याच न्युस्टारका महेन्द्र मगर घोषित भए । शनिवारको खेल सिरीजंघा एफ सी र हाइवे एफसी बिच हुनेछ । न्यु स्टारको दोस्रो चरण प्रवेश भने शनिवारको खेलले निर्धारण गर्नेछ ।

समूह ए मा रहेका सिरीजंगा ६ अङ्क सहित ग्रुपको लिडर वनेको छ । शनिवारको खेलमा हाइवे एफसी विजयी वने हाइवे दोस्रो चरणमा प्रवेश गर्नेछ भने सिरीजंगाले बराबरी वा जित निकाले न्यु स्टार दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पथरीशनिश्चरे भित्रका खेलाडीलाई अक्सन मार्फत पथरीशनिश्चरे प्रिमियर लिग सञ्चालन भएको हो । ८ टिमले प्रतिस्पर्धा गरेको लिग विजेताले  १ लाख ७५ हजार र उपविजेताले ७५ हजार र ट्रफि प्राप्त गर्ने छन् । पुस ११ सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।