धरान : डाका, सवारी ज्यान र चोरी मुद्दाका ३ फरार अभियुक्त पक्राउ परी जेल चलान भएका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ २१ गतेको फैसला अनुसार डाका मुद्दाका प्रतिवादी मेचीनगर १० का विष्णुप्रसाद राजवंशीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

उनले राखेको धरौटीबाट जरिवाना सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको अवस्थामा उनी फरार भएका थिए ।

खोजतलास गर्ने क्रममा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार घरबाट पक्राउ गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । अदालतको फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उनलाई उपस्थित गराइएको उनले जानकारी दिए ।

त्यस्तै झापा जिल्ला अदालतको २०६९ कात्तिक २३ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दाका प्रतिवादी मेचीनगर २ का ३५ वर्षीय विसुन दनुवारलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा २२ दिन असुल भई बाँकी १ महिना ८ दिन बेरुजु रहेको अवस्थामा उनी फरार भएका थिए । खोजतलास गर्ने क्रममा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रवार घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै झापा जिल्ला अदालतको मिति २०७६ माघ २४ गतेको फैसला अनुसार चोरी मुद्दाका प्रतिवादी मेचीनगर १० का २८ वर्षीय श्याम ठाकुरलाई ६ महिना कैद र ५ हजार जरिवाना सुनाइएको थियो ।

जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा २४ दिन असुल भई बाँकी ५ महिना ६ दिन बेरुजु रहेको अवस्थामा फरार रहेका उनलाई बिहीबार घरबाट पक्राउ गरिएको थियो । बाँकी कैद भुक्तानको तीनै जनालाई शुक्रवार झापा कारागार पठाइएको उनले जानकारी दिए ।