धरान : होराईजन क्लब धरानले चोटग्रस्त भएका राष्ट्रिय बास्केटबल खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।

होराईजन क्लबले आज राष्ट्रिय बास्केटबल खेलाडी प्रदीप गुरुङलाई ९ हजार ५ सय ५ रुपैयाँ रकम सहयोग गरेको हो ।

होराईजन क्लब धरानका अध्यक्ष वसन्त राईका अनुसार चोटग्रस्त भएका राष्ट्रिय बास्केटबल खेलाडी गुरुङलाई थप उपचारका लागि थोरै भएपनी सहयोग मिलोस् भन्ने उद्देश्यले ९ हजार ५ सय ५ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

क्लबका सदस्यहरूबाट उक्त रकम सङ्कलन गरेर सहयोग गरिएको उनले बताए । एक महिना अघि इटहरी १९ सैनिक चोकका २८ वर्षीय राष्ट्रिय बास्केटबल खेलाडी प्रदीप गुरुङ कोर्टमा अभ्यास गरिरहँदा घाइते भएका थिए ।

बास्केटबल खेलाडी गुरुङको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट पुर्णरुपमा च्यातिएको, मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि अलिकति च्यातिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ । प्रत्यारोपण गर्नका लागि करिब अढाई लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ ।