विराटनगर : मोरङको विराटनगर महानगरपालिका १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गए राति तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ वर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो ।

उक्त आगलागीमा परी उनको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र उनकै छोरा ७ वर्षीय किशन कुमार तत्मा घाइते भएका छन् । घाइते दुवै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो आगलागीमा परी तत्माको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगायत सम्पूर्ण समान जल्दा ४ लाख बराबरको क्षति भएको छ ।

आगलागी विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।