विराटनगर : प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्य,मान्यता,आदेश,निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी गरेको र अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

उत्कृष्ट कार्यालय व्यवस्थापन, विभिन्न आपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए ।

यसै गरी आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय हरैचा मोरङ दरबन्दी भई प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौलालाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल मङ्सिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको जनाइएको छ ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तर सम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।