धरान : विराटनगर महानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आरएनए एक्सट्रयाक्सन मेसिन प्रदान गरेको छ ।

रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त सहयोगमा मेसिन आज एक कार्यक्रम गरी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा. डा. गुरुप्रसाद खनाल र अस्पताल निर्देशक गौरीशङ्कर साहलाई हस्तान्तरण गरिएको हो । मेसिनलाई विराटनगरका प्रमुख भीम पराजुली तथा रोटरी क्लबका पदाधिकारीहरूले संयुक्त रूपमा प्रदान गरे ।

प्रतिष्ठानको उपकुलपति प्रा. डा. गिरीको विशेष पहलमा मेसिन प्रदान गरिएको हो । यसअघि इन्टरन्यासनल रोटरी इ क्लब अफ टेक्सस, युएसएको सहकार्यमा रोटरी ग्लोबल ग्रान्ट प्रोजेक्टको आर्थिक सहयोगमा प्राप्त मेसिन सञ्चालनका लागी विराटनगर महानगरपालिकालाई रोटरी क्लबले प्रदान गरेको थियो ।

मेसिन ग्रहण गर्दै उपकुलपति गिरीले विराटनगर महानगरपालिका तथा रोटरी क्लबलाई धन्यवाद दिएका थिए । ’कोभिडको युद्धमा यस मेसिन हाम्रो लागी ठुलो हतियार प्राप्त भएसरह भएको छ ।

यस सामग्रीहरूको लागी धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ’प्रतिष्ठानमा हाम्रो पहिलो प्राथमिकता भनेको बिरामीको उपचारमा प्रत्यक्ष सरोकार राख्ने ल्याब, रेडियोलोजी, इमेजिङ तथा फार्मेसी चुस्त दुरुस्त सञ्चालन हो र त्यसको लागी काम भइरहेको छ ।

हामीलाई प्राप्त यस सामग्रीहरूले त्यस उद्देश्यमा पुग्नका लागी सहयोग मिल्नेछ ।’ प्रतिष्ठानको बेतिथिहरूलाई हटाउँदै सुशासनको लागी निरन्तर कार्यहरू भइरहेको समेत उपकुलपति गिरीले बताए ।

रोटरी क्लबको विशेष योगदानमा वीपी प्रतिष्ठानलाई मेसिन उपलब्ध गराएको विराटनगरका प्रमुख पराजुलीले जानकारी गराए । कोभिडको लडाइँमा मानव जीवनको स्वास्थ्यका लागी महानगरपालिकाले निरन्तर रूपमा सहयोग गर्ने समेत उनले प्रतिबद्धता गरेका थिए ।

यस मेसिन सहित हाल प्रतिष्ठानमा ३ वटा पिसिआर मेसिन र २ वटा आरएनए एक्सट्रयाक्सन मेसिन पुगेको माईक्रोबोयोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले जानकारी गराए ।

यी मेसिनहरूको सहयोगले अब भने दैनिक २ हजार वटा स्वाब नमुना परीक्षण गर्ने क्षमतामा स्तरोन्नति भएको उनले जनाए ।

यसअघि मङ्सिर १० गते रोटरी क्लबले एक पटकमा ९६ वटा स्वाब नमुना परीक्षण गर्ने पिसिआर मेसिन समेत प्रतिष्ठानलाई प्रदान गरेको थियो । यी दुवै मेसिनको मुल्य करिब १ करोड पर्न आउँछ ।

Hastantaran-1