धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान ११ को चतरा मार्ग स्वस्तिक चोक देखि मङ्गलबारे सम्मको सडकको शिलान्यास गरेका छन् ।

धरान उपमहानगरपालिकाको सडक तथा ढल निमार्णको योजना अन्तर्गत भ्याट रकम सहित ६ करोड २४ लाख ६२ हजार ३ सय ५९ रुपैयाँमा उक्त सडक बन्न लागेको हो ।

आउँदो पुस १७ गते निमार्ण कार्य सुरु गरेर २०७८ साल पुस १६ गते निमार्ण कार्य सम्पन्न गरिसक्ने गरी उक्त योजनाको काम शाह निमार्ण सेवा इनरुवाले लिएको छ । सडकको लम्बाई १२ सय ४० मिटर र ५० फिट चौडाइमा बन्न लागेको हो ।

कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, उमिता विश्वकर्मा, धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको पनि उपस्थिति रहेको थियो । धरान–११ का वडाध्यक्ष बाबुलाल लामाका अनुसार सो सडकका लागि टेन्डर परिसकेको छ ।