धरान : धरानको छाताचौकमा धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य चौकी रहेको छ । स्वास्थ्य चौकी बिदाका दिन बाहेक कार्यालय समयमा सधैँ खुल्लानै हुन्छ ।

त्यहाँ नेपाल सरकारले तोके अनुसारको स्वास्थ्यकर्मीहरू पनि छन् । त्यति मात्रै नभएर स्वास्थ्य चौकीबाट ३७ प्रकारका औषधी निःशुल्क पनि पाइन्छ । तर पनि धरानका सर्वसाधारण सामान्य बिरामी हुँदा निजी क्लिनिकमै उपचार गर्न जाने गरेका छन् ।

Dharan-Suwasthyachauki-5

सरकारी सेवा सुविधा निःशुल्क पाइने ठाउँमा सर्वसाधारण नजानुको मुख्य कारण धरानका निजी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै हुनुले स्वास्थ्य चौकी ओझेलमा परेको धरान स्वास्थ्य चौकीका प्रमुख नवीन राई बत्ताउँछन् । तर पनि विगतको तुलनामा सेवा लिने सर्वसाधारण भने केही बढेको उनी बताउँछन् ।

स्वास्थ्य चौकीमा बहिरङ्ग सेवा अन्तर्गत सामान्य ज्वरो , रुघामर्की , भाडापखाला, निमोनिया, घाउ खटिरा , दाद र मलेरिया लगायत ३७ प्रकारका औषधीहरू निः शुल्क पाइन्छ । जहाँ सामान्य चोटपटकको ड्रेसिङ पनि गरिन्छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर पनि सञ्चालनमा छ ।

Dharan-Suwasthyachauki-4

क्षयरोगको औषधी, नियमित खोपा सेवा, परिवार नियोजनको सेवा, सामान्य प्रसूति सेवा लगायतका सेवा निःशुल्क दिइए पनि सर्वसाधारण स्वास्थ्य चौकीमा सेवा लिन पुग्दैनन् ।

स्वास्थ्य चौकी प्रमुख नवीन राईका अनुसार धरान बजार क्षेत्रका मानिसहरू उपचारका लागि आउँदैनन् । तर धनकुटा, भेडेटारको तल्लो भेग, चिन्डेडाँडाँ बाट गर्भवतीहरू सुत्केरी गराउन आउँछन् ।

अरू स्वास्थ्य सेवा लिन नआए पनि परिवार नियोजनका साधनहरू लिन चैँ आउने गरेका छन् । तर अरू औषधीहरू लिन निजी क्लिनिक नै जाने गरेका छन् ।

Dharan-Suwasthyachauki-3

गत आर्थिक वर्ष २०७५/०७६ मा ४० जना गर्भवती महिलाले यही स्वास्थ्य चौकीबाट नर्मल डेलिभरी गरेका थिए । चालु आर्थिक वर्षको कार्तिक महिनामा २५ गर्भवतीको डेलिभरी भइसकेको प्रमुख राईले जानकारी दिए ।

स्वास्थ्य चौकीमा डेलिभरी भएका सुत्केरीहरूलाई प्रोत्साहन गर्ने नेपाल सरकारले जनही १ हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ ।

हाल स्वास्थ्य चौकीमा ७ जना कर्मचारी रहेका छन् । उक्त स्वास्थ्य चौकीको भवन जीर्ण भएकोले बर्षायाममा पानी पर्दा चुहिने समस्या छ ।

स्वास्थ्य चौकी क्षेत्रमा सुरक्षा व्यवस्था नभएको, खुल्ला र एकान्त पनि भएकाले सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरूको सुरक्षित लागुषध प्रयोग गर्ने स्थल बन्दै गएको छ । त्यति मात्रै नभएर स्वास्थ्य चौकी हाता भित्र ट्याक्सी स्टेण्ट बन्दै गएको छ ।

ट्याक्सी चालकहरू स्वास्थ्य चौकी अगाडीनै तास, लुडो खेलिरहेको भेटिन्छन् । यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान नपुगेको स्वास्थ्य चौकी आसपासका बासिन्दा बत्ताउँछन् ।

Dharan-Suwasthyachauki-2