विराटनगर : प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । 

कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे । निर्माण सुरु भएको ४० दिनमा सम्पन्न गरी अक्सिजन र भेन्टिलेटर सहितका १ सय बेडको अस्पताल हस्तान्तरण गरिएको हो । 

कोभिड अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले  नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताए । उनले कोरोना संक्रमित जनताले अक्सिजनको अभाव  र सहज उपचार उपलब्ध नहुँदा अकालमै ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Covid-Hospital-2

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनीय कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गरे । उनले कोरोनाको जोखिम हटेपछि विशिष्टीकृत अस्पतालको रूपमा प्रयोग गर्नु पर्नेमा जोड दिए । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा अक्सिजन र भेन्टिलेटर सहितको थप १ सय बेड निर्माण कार्य सुरु गर्नका लागि स्विस सरकारबाट ४ करोड सहयोग उपलब्ध भएको जानकारी दिए ।

उनले कोभिड अस्पताल परिसरमा फोहर व्यवस्थापन, वाटर ट्रिटमेन्ट, र अक्सिजन प्लान्ट निर्माण गरिने बताए । मन्त्री घिमिरेले कोभिड अस्पताल परिसरमा चाँडै १ सय बेड तयार गरिने बताए ।

उनले भने,‘ कोभिडका संक्रमित अहिले घटे पनि विज्ञले कोरोनाको दोस्रो लहर आउन सक्ने भनेका छन् ।’ प्रदेश सरकारले विज्ञको भनाई अनुसार तयारी गरिरहेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संक्रमित नागरिकको उपचारको समस्याका कारण  निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताए ।

कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक पवन सारडाले प्रदेश सरकारको १ करोड, विराटनगर महानगरपालिकाको २५ लाख सहित ८ करोडमा अस्पताल निर्माण गरिएको बताए । 

Covid-Hospital-1