झापा : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद बाध्यता भएको बताएका छन् ।

झापाको भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उनले सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जानी जानीकन अवरोध सिर्जना गरिएका कारण ताजा जनदेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनदेश दिँदा समेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबरजस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, 'महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारा तर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद बाध्यता सिर्जना हुन पुग्यो ।'

सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।