पथरी : प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ ।

लिग चरणका खेलहरू आज सकिएसँगै सेमिफाइनल समीकरण पुरा भएको हो । ८ र ९ गते सेमिफाइनलका खेलहरू हुनेछन् । आजको खेलमा दि रियल ब्रदर्शले टेन नवोदयलाई १-० गोल अन्तरले पराजित गरेको छ । यी दुबै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

खेलको १५ औँ मिनेटमा दि रियल ब्रदर्शका डम्बर मगरले वान भर्सेज वानमा उत्कृष्ट गोल गरे । मगरले गरेको गोल नै खेलको निर्णायक गोल भएको हो । खेलको ३६ औँ मिनेटमा विशाल पाण्डेले डिबक्स नजिकबाट गरेको फ्रिकिक प्रहारले पोष्टको दिसा लिन सकेन ।

खेलको अतिरिक्त समयमा तीर्थ बस्नेतको उत्कृष्ट पासलाई सविन लिम्बुले सदुपयोग गर्न सकेनन् । सविनको प्रहार बाहिरिएपछि दि रियलले थप गोल गर्न सकेन ।

खेल अवधिभर निकै दबाबमा रहेको टेन नवोदयले पाएका अवसरको सदुपयोग गर्न नसक्दा आजको खेलमा हार व्यहोर्न पुग्यो । पहिलो हाफको अतिरिक्त समयमा घनश्याम चौहानले निकालेको पासलाई अङ्कित लिम्बूले हेड गरे, तर बलले पोस्टको दिसा लिन सकेन ।

४९ औँ मिनेटमा राज तामाङले पाएको कर्नरलाई पनि जाली चुमाउन नसकेपछि टेन नवोदय स्तब्ध बन्यो । दोस्रो हाफमा खेलमा फर्किएको नवोदयले पाएका केही अवसरहरूको सदुपयोग गर्न नसकेपछि हार व्यहोर्न बाध्य भयो ।

प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफ दी म्याच दि रियल ब्रदर्शका दिपेन माझी घोषित भए । लिग कम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

बुधवारको नकआउट चरणको खेल समूह ए विजेता टिम सिरिजंगा र टेन नवोदय एफसी बिच हुने छ । सेमीफाइनलमा ९ गते समूह बि विजेता टिम दि रियल ब्रदर्श र समूह ए उपविजेता हेरिका न्यू स्टार बिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।