झापा : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा आज सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरूले ओलीले संसद् विघटन गरेको समर्थनमा कोणसभा गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल, अनेरास्ववियूको अगुवाइमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरूले कोणसभा गर्दै ओलीले चालेको संसद् विघटनको कदम आवश्यकता भएको तर्क गरे ।

उनीहरूले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरू देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताए ।

सो अवसरमा युवा सङ्घ अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर अधिकारी, युवा सङ्घ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।