धरान : प्रदेश १ मा सत्तारुढ नेकपाको ओली समूह सरकार र पार्टी दुवैमा कमजोर देखिएको छ ।

प्रचण्ड–नेपाल समूह दुवैमा बलियो स्थितिमा छ । प्रतिनिधिसभाको विघटन पछि प्रदेश १ मा सरकारमा प्रचण्ड–नेपाल समूहले सक्रियता बढाएको छ ।

तीन बर्षअघि संसदीय दलको नेतामा शेरधन राईसँग २ मत अन्तरले पराजित भएका नेता भीम आचार्यले अहिले सक्रियता बढाएर लगेका छन् ।

प्रदेश १ मा बहुमतको सरकार बन्न ४७ सांसद आवश्यक पर्छ । नेकपा भित्रको फुट पछि प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न सहज छ । प्रदेश १ मा पूर्व एमालेका ५१ सांसद छन् । ५१ मध्ये नेपाल समूहका ३१ जना छन् । पूर्व माओवादीका १६ सांसद छन् । नेपाल समूहका सांसद एक ठाउँमा रहे सहजै सरकार गठन हुने देखिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन् ।

प्रचण्ड–नेपाल समूहका सांसदहरू (४७)
भीम आचार्य, जीवन घिमिरे, टङ्क आङबुहाङ, तुलसीप्रसाद न्यौपाने, इन्द्रबहादुर आङ्वो , उत्तमकुमार बस्नेत, उपेन्द्रप्रसाद घिमिरे, कुलप्रसाद साम्वा, गणेशकुमार काङवाङ, गोपालचन्द्र बुढाथोकी, झलकबहादुर मगर, उमिता विश्वकर्मा, उषाकला राई, कला घले , कुसुमकुमारी श्रेष्ठ, कृष्णकुमारी राई, खिनु लङ्वा लिम्बु, मोहनकुमार खड्का, राजकुमार ओझा, राजन राई, राजेन्द्रकुमार राई, रामकुमार राई, रामबहादुर राना मगर, लछुमन तिवारी, धिरेन्द्र शर्मा, नारायणबहादुर मगर, पूर्णप्रसाद राई, पूर्णप्रसाद राजवंशी, गुलेफुन खातुन, जसमाया गजमेर, पदमकुमारी गुरुङ, विनादेवी राई, यशोधा अधिकारी, बसन्तीदेवी यादव, बलबहादुर साम्सोहाङ, विजयकुमार विश्वास, बृखबहादुर प्रधान, सरस्वती पोखरेल, सरिता थापा, सावित्री जोशी, सीता थेबे, सुनिताकुमारी चौधरी, सौभाग्य राई, होमकुमारी साँवा, लीलाबल्लव अधिकारी र श्रीप्रसाद मैनाली ।

ओली समूहका सांसद (१९)
शेरधन राई, सर्वध्वज साँवा लिम्बु, हिकमतकुमार कार्की, हिराकुमार थापा, जगदीशप्रसाद कुसियत, ज्ञानेश्वर राजवंशी, तेजमान कन्दङ्वा, निरन राई , बसन्तकुमार बाँनिया, विमल कार्की, बुद्धिकुमार राजभण्डारी, लिलम वस्नेत, अम्विका थापा, आशारत्न जवेगु, अम्विरबाबु गुरुङ, अर्जुन राई, इन्द्रमणि पराजुली, एकराज कार्की र काजीमान कागते ।

तटस्थ (१)
प्रदिपकुमार भण्डारी (सभामुख)

पार्टीमा पनि ओली समूह कमजोर :
प्रदेश १ मा नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा समूहगत भेलाहरुले तीब्रता पाएका थिए ।

दुईसाता देखि औपचारि रूपमा गुटगत भेला सुरु भएका थिए । प्रदेश र जिल्लामा आ–आफ्ना समूहलाई बलियो बनाउने कसरत अहिले सुरु भएको छ ।

प्रदेश १ मा दुई पार्टी एकता भएर नेकपा बनेपछि तत्कालीन माओवादी केन्द्रमा आबद्ध रहेका अधिकांश प्रचण्ड–नेपाल समूहमै छन् । तत्कालीन एमालेको माधव नेपाल समूह प्रचण्ड समूहसँग मिलेकोले सो समूहको सबैतिर स्पष्ट बहुमत छ ।

प्रदेश १ का पदाधिकारीमध्ये प्रधानमन्त्री ओलीको समूहको प्रतिनिधित्व अध्यक्ष देवराज घिमिरेले गर्छन् भने सचिव सुरेश किराँती प्रचण्ड निकट हुन् ।

प्रदेश १ का इन्चार्ज भीम आचार्य नेपाल निकट, सहइन्चार्जहरु सावित्रीकुमार काफ्ले प्रचण्ड निकट र नरेश खरेल नेपाल निकट रहेकोमा अर्का सहइन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राई ओली निकट हुन् ।

प्रदेश १ का १४ जिल्लामा इन्चार्ज रहेका १४ जना केन्द्रीय सदस्यमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा छन् भने खोटाङका इन्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा छन् ।१४ जिल्लाका २५ जना सहइञ्चार्जहरुमध्ये १६ जना प्रचण्ड–नेपाल समूहमा खुलेको छन् ।

अध्यक्ष ओली समूहमा ७ जना छन् भने दुई जना जिल्ला सहइन्चार्जहरु कुनै समूहमा खुलेका छैनन् । १४ जिल्लामध्ये ७ जिल्लाका अध्यक्षहरू प्रचण्ड–नेपाल समूहमा खुलेका छन् भने ५ जिल्लाका अध्यक्ष ओली समूहमा छन् । दुई जिल्लाका अध्यक्षहरू तटस्थ रहेका छन् ।

इलामका अध्यक्ष राम राना र धनकुटाका अध्यक्ष राजेन्द्र राई आफ्नो समूहमा रहने दुवै पक्षको दाबी छ ।

राना नेता झालनाथ खनाल निकट भएपनि प्रदेश सरकारमा मन्त्री रहेकोले नखुलेको प्रचण्ड–नेपाल समूहको दाबी छ । राई पनि आफूहरूसँगै रहेको सो समूहको भनाइ छ ।

१४ जिल्लाकै सचिवहरू प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । जिल्ला सरहको हैसियत राख्ने विराटनगर महानगर कमिटीको इन्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्ड–नेपाल समूहका हुन् । महानगरका अध्यक्ष अध्यक्ष सागर थापा भने ओली समूहमा छन् ।

प्रदेश १ बाट नेकपाको सचिवालयमा प्रतिनिधित्व गर्ने दुई जनामध्ये अध्यक्ष केपी ओली र पूर्व अध्यक्ष झालनाथ खनाल फरक समूहमा रहँदा स्थायी समिति सदस्यहरू योगेश भट्टराई, भीम आचार्य र आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा प्रचण्ड नेपाल समूहमा छन् ।

स्थायी समिति सदस्य सुवास नेम्वाङ भने ओली समूहमा छन् । नेकपाको १ नं. प्रदेश कमिटी २०७ जनाको गठन भएको थियो । विधान अनुसार १० प्रतिशत सदस्य मनोनीत गरी थप गरिएको छ ।

प्रदेश कमिटीमा साबिक माओवादीको ४० प्रतिशत रहेकोले त्यसमा नेपाल निकट सदस्यहरू थप गर्दा ७० प्रतिशत भन्दा माथि आफ्नो पक्षमा हरेको प्रचण्ड–नेपाल समूहका नेता नेकपा केन्द्रीय सदस्य महेश रेग्मीको दाबी छ ।