धरान : धरान उपमहानगरपालिकाको वडा नं. १४ मा मङ्गलवार सम्पन्न वडाध्यक्ष फुटबल रनिङ कपको उपाधि धरान-१४ को नयाँ टोलले जितेको छ ।

धरान-१४ को विजयपुर खेलमैदानमा सम्पन्न फाइनल खेलमा हात्तीसार र नयाँ टोल बिच फाइनल खेल भएको थियो। फाइनल खेलमा निर्धारित समयको अन्तिममा नयाँ टोलका सुरज पाण्डेले आफ्नो समूहबाट एक गोल गरी आफ्नो समूहलाई विजयी बनाउन सफल भएका थिए ।

हात्तीसारको तर्फबाट पनि आक्रामक खेल खेलेपनि उनीहरू गोल लगाउन भने चुकेका थिए । नयाँ टोलले नगद २५ हजार, मेडल र रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हात्तीसारले नगद १५ हजार र मेडल प्राप्त गरेको छ ।

कोरोना महामारीको बाबजुद १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको पहलमा वडाका खेलाडीहरूलाई लक्षित गर्दै वडाध्यक्ष फुटबल रनिङ कप प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगितामा वडाका ७ वटा फुटबल टिमले भाग लिएका थिए ।

प्रतियोगितामा म्यान अफ द म्याच नयाँ टोलका सुरज पाण्डे घोषित भए । यसै गरी वेस्ट फरवड रञ्जित क्षेत्री, हाइस्कोरर नाहिर श्रेष्ठ, वेस्ट मिडफिल्डर हात्तीसारका सन्दीप राई, गैरीगाउँका अनिल राई, बेस्ट डिफेन्स हात्तीसारका सौगत गुरुङ, उत्कृष्ट गोलकिपर नयाँ टोलका राजेन खड्का र फेयरप्ले नारायणपुर घोषित भएको छ ।

विजेतालाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपविजेतालाई एन्फाका उपाध्यक्ष किशोर राईले पुरस्कार वितरण गरेका थिए भने अन्य पुरस्कारहरू धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीले वितरण गरेकी थिइन ।

foodball