धरान : लामो समय पश्चात् धरान उपमहानगरपालिका देखि निजी र सरकारी विद्यालय न्यूनतम मापदण्ड पुरा गरेर गत बुधवार देखि सञ्चालन आएका छन् ।

सरोकारवालाहरूसँगको छलफल पछि स्वास्थ्य प्रोटोकल पुरा गरेर स्कुल खोल्ने मेयर स्तरीय निर्णय भएको थियो ।

धरान १४ को पञ्चायत माध्यमिक विद्यालयमा जोर बिजोर रोल नं अनुसारले विद्यालय सञ्चालन गरिएको छ । जहाँ विद्यार्थी थोरै भएकाले पूर्ण रूपमा स्वास्थ्य प्रोटोकल पालना भएको पाइयो । यस विद्यालयमा कक्षा १० सम्म अध्ययन गराइन्छ ।

धरान २ स्थित शिक्षा निकेतन माविमा कक्षा ८ र ९ मा विद्यार्थी धेरै भएकाले एउटै बेन्चमा ३ जना सम्म राखिएको थियो । विद्यालयका केही विद्यार्थीले स्कुल पोसाक नलगाएको पाइयो । प्रधानाध्यापक उमेश गुँरागाइका अनुसार आइतबार देखि सेक्सन छुटाएर अध्ययन गराइने बताए । यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन गराइन्छ ।

धरान १२ स्थित पब्लिक माविका विद्यार्थीको अत्यधिक भिडभाड देखिएको थियो । विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाका अनुसार विद्यालयमा ४ सय पचास जना विद्यार्थी नयाँ भर्ना भएको बताए । उनले भने अहिले सबै भर्ना बन्द गरेका छौ ।

कति सङ्ख्यामा विद्यार्थी आउने अनुमान गर्ने असहज भएकाले योजना बिना नै विद्यालय सञ्चालन थियो । तर,आइतबारदेखि चार्ट बनाएर सेक्सन छुटाएर अध्ययन गराएको उनले बताए ।

विद्यालयका सबै चमेना गृहहरू बन्द गरिएको छ । विद्यालय दिउँसो २ बजे सम्म सञ्चालन गरी छुट्टी दिइन्छ । विद्यालयको मूल गेटमा प्रत्येक विद्यार्थीलाई स्यानिटाइजर गर्ने लगाइन्छ । प्रत्येक विद्यार्थीहरूले मास्क अनिवार्य लगाएका थिए ।

धरान उपमहानगरपालिकामा मेयर स्तरीय निर्णयबाट विद्यालय सञ्चालनमा आए पनि पछिल्लो समय विद्यालयहरूमा अनुगमन देखिँदैन । विद्यालय सञ्चालन गर्न जोखिम हुने स्वास्थ्य विज्ञहरूले बताउँदा बताउँदै विद्यालय खोलिएको भए पनि धरान उपमहानगरपालिकाको शिक्षा शाखाले फेरी अनुगमन गरेको देखिँदैन ।

अभिभावक पनि विद्यालयमा आफ्ना छोराछोरी पठाएर ढुक्कले बस्न पाएका छैनन् । कोरोना महामारीको दोस्रो चरणको अवस्था आउन सक्ने चेतावनी दिइरहँदा विद्यालय सञ्चालनले थप जोखिम बढेको छ ।