पथरी : प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा टेन नवोदयले फाइनल यात्रा तय गरेको छ ।

आज भएको पहिलो सेमीफाइनल खेलमा सिरिजंगा एफसीलाई १-० गोल अन्तरले हराउँदै टेन नवोदयले फाइनल यात्रा तय गरेको हो । खेलको २४ औँ मिनेटमा टेन नवोदयका जर्सी नं. ९ का खेलाडी रोशन माझीले गोल गरे । माझीले गरेको गोल नै निर्णायक बन्यो ।

टेन नवोदयको यसअघि पनि खेलको ६ मिनेटमा सञ्जीव कुरुङ्वाङले गरेको उत्कृष्ट फ्रिकिक गोल रक्षक अशोक खत्रीले विफल बनाइदिएका थिए । ५३ औँ मिनेटमा धिरेन विष्टले गरेको फ्रिकिक प्रहारले पनि गोल पोस्टको दिसा लिन नसकेपछि टेन नवोदय १-० मा चित्त बुझाउन बाध्य भयो ।

खेलको ७९ औँ मिनेटमा सेवेहाङ् लिम्बूले रातो कार्ड पाएपछि टेन नवोदय निकै दबाबमा परेको थियो । खेल अवधिभर दबाबमा देखिएको सिरिजंगाले पाएका केही सुनौला अवसरको सदुपयोग गर्न सकेन ।

खेलको २२ औँ मिनेटमा जहरमान लिम्बूले गरेको फ्रिकिक गोल रक्षक अर्जुन बस्नेतले विफल बनाइदिए । यसपछि पनि सिरिजंगा निकै अवसरहरूको सदुपयोग गर्न चुकेको थियो । खेलको अन्तिम समयमा बढी आक्रामक बनेको सिरिजंगाले गोल फर्काउन नसकेपछि खेलबाट बाहिरिन बाध्य भयो ।

प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफ दी म्याच टेन नवोदयका सञ्जीव कुरुङ्वाङ् घोषित भए । लिग कम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

बुधवारको नकआउट चरणको खेल दि रियल ब्रदर्श र हेरिका न्यू स्टार बिच हुने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।