धरान : बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचार सहयोगार्थ २ लाख नगद सहयोग सङ्कलन भएको छ ।

सङ्कलित रकम आज बुधवार भएको मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलमा खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको छ ।

गुरुङको उपचारका लागी धरान सरोकार समाज काठमाण्डौका अध्यक्ष प्रभु श्रेष्ठबाट प्राप्त १० हजार सहित १ लाख २७ हजार ५ सय ९० रूपैँया सुनसरी तथा धरान बास्केटबल सङ्घको समन्वयमा विभिन्न सङ्घसंस्थाहरू तथा व्यक्तिहरूबाट सङ्कलन भएको राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

गुरुङका लागी आज खेलमैदानमा नै धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रवीण राईले १५ हजार , एन्फा प्रदेश १ का अध्यक्ष किशोर राईले १० हजार, नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल सङ्घबाट ५ हजार तथा हिमालयन मेघा कलेजबाट ५ हजार सहयोग गरेका थिए । यसै गरी, होप धरानबाट सङ्कलित २७ हजार ४ सय १० रूपैँयाको डमी चेक समेत प्रदान गरिएको छ ।

धरान १८ स्थित डिपो उच्च माविको कोर्टमा धरान बास्केटबल टिम र झापा बास्केटबल टिम बिच भएको आजको मैत्रीपूर्ण खेलमा धरानले झापालाई ७५–२९ अङ्कले पराजित गरेको छ ।

खेलमा धरानबाट सुजन खालिङ एक्लैले १६ अङ्क र झापाबाट सर्वोद्र राईले १४ अङ्क बटुलेका थिए । खेलका विजेता तथा उपविजनतालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

मैत्रीपूर्ण खेल धरान बास्केटबल सङ्घको आयोजना, नेपाल बास्केटबल लिग तथा डिपो उच्च माविको सहयोग तथा सुनसरी बास्केटबल सङ्घको सहकार्यमा भएको हो ।

मैत्रीपूर्ण खेलमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा। डा। मोहनचन्द्र रेग्मीले उपचारको लागी प्रतिष्ठानले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रदेश स्तरको खेलाडीको उपचारका लागी च्यारीटी कार्यक्रम गर्नु दुखदायी भएको बताउँदै सरकारले खेलाडीहरूको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

२८ वर्षीय खेलाडी गुरुङको दाहिने घुँडामा लिगामेन्ट च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकले बताएको प्रशिक्षक चाम्लिङले जानकारी गराए ।

लकडाउनका बेला खेलाडीहरूलाई बास्केटबल सङ्घले सेल्फ ट्रेनिङ गर्न भनेको बेला खेलाडी गुरुङ चोटग्रस्त भएका थिए । गुरुङको शल्यक्रियाको लागी करिब २ लाख ५० हजार खर्च हुने भएको र उपचार पछि खेल जीवनमा फर्कन नसक्ने प्रशिक्षक चाम्लिङले बताए ।

प्रदेश १ का लागी दुई पटक सम्म खेल खेलका २८ वर्षीय गुरुङ इटहरी १९ मा परिवार सँग बस्दै आएका छन् । सामान्य परिवारमा हुर्किएका उनी लकडाउनका बेला स्वःप्रशिक्षण गरी रहेका बेला चोटग्रस्त भएका थिए ।

गुरुङ जिल्ला र क्षेत्रीय च्याम्पियन हुँदै धरानमा भएको ७ औ तथा दाङमा भएको ८ औ राष्ट्रिय खेलमा प्रदेश १ को टिमबाट सहभागिता जनाएका थिए ।

धरानमा हरेक वर्ष हुने बास्केटबल ट्यालेन्ट हन्टबाट छात्रवृत्ति पाएका गुरुङ प्रदेश १ का बास्केटबल खेलाडी बन्न सफल छन् ।