इटहरी : इटहरी उपमहानगरमा विकास निमार्णको लागी विनियोजन भएको बजेटको खर्चको अनुपात निराशाजनक देखिएको छ । इटहरी उपमहानगरपालिकाले ६ महिनाको अवधिमा जम्मा ११ प्रतिशत मात्र खर्च गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को लागी विनियोजित ९२ करोड ६२ लाख ८३ हजार मध्ये मङ्सिर मसान्त सम्ममा ११ करोड १ लाख २ हजार ८३६ रुपैयाँ मात्र खर्च भएको छ । विकास निमार्णको लागी विनियोजन भएको बजेट ६ महिना सम्ममा ११ दशमलव ९ प्रतिशत मात्र खर्च भएको छ । त्यस मध्ये सबैभन्दा बढी सडक तथा पुल निमार्णमा खर्च भएको देखिन्छ । ११ करोड मध्ये १० करोड हाराहारी बजेट सडक र पुलमा खर्च भएको छ । त्यसपछि गैर आवासीय भवन निमार्ण तथा खरिद शीर्षकमा खर्च भएको छ ।

त्यस्तै चालु खर्च पनि उल्लेख्य भएको पाइँदैन । ९९ करोड ६० लाख १८ हजार ४ सय ९ विनियोजित बजेट मध्ये ६ महिनाको अवधिमा २५ करोड ८१ लाख ९८ हजार ८ सय ९ रुपैयाँ खर्च भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पारिश्रमिकमा र अन्य फिर्ता शीर्षकमा खर्च भएको छ । इटहरी उपमहानगरपालिका अन्तरगत लेखा शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार विकास बजेट भन्दा चालु खर्चको अनुपात बढी देखिएको हो ।

कोभीड महामारीको बहानामा आव २०७७/७८ को लागी विनियोजित बजेटको खर्च निराशाजनक देखिएको हो । गत चैत देखी सुरु भएको लकडाउन र लामो समय कोभीड सङ्क्रमणले भौतिक विकाश निमार्णको काम नहुनुले खर्च हुन नसकेको उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरे बताउँछन् । काम गर्ने समयमा लकडाउन भएको र बजेट निकासा पनि ढिला हुने गरेकोले अघिल्लो ६ महिनामा स्वभावीक रूपमा खर्च कम हुने उनको तर्क छ । आगामी ६ महिना भएका कामको बजेट निकासा गरिने र थप काम पनि हुने भएकोले खर्च बढ्ने उनको भनाइ छ ।

अर्थशास्त्री डाक्टर भेषप्रसाद धमला स्थानीय तहले खर्च गर्न नसक्नु निराशाजनक भएको बताउँछन् । स्थानीय सरकार सबैभन्दा धेरै सक्रिय र जनता प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले परिमाणात्मक खर्च बढाउनुपर्ने बताए ।

खर्च गर्ने शैली र विकास निमार्णको ढाँचामा परिवर्तन ल्याएर भए पनि विकास बजेट खर्च गरिनुपर्ने उनको भनाई छ । जसको कारण अर्थतन्त्र चलायमान हुने उनी बताउँछन् ।