धरान : धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा २१ एजेन्डा मध्ये १२ एजेन्डामा छलफल तथा निर्णय गर्दै बैठक स्थगित भएको छ ।

आज बिहान ८ बजे देखि बस्ने भनिएको बैठक निर्धारित समय भन्दा निकै ढिलो सुरु भएको थियो । आजको बैठकमा धरान २० साबिकको विष्णुपादुकाको चिन्डेडाँडा देखि सुलिकोट सम्मको गाउँलाई पर्यटन गाउँकोरुपमा छनौट गरिएको छ ।

प्रदेश सरकारबाट पर्यटन गाउँको मापदण्ड पुर्‍याएर छनौट गर्नुपर्ने भनिएकोमा सो गाउँलाई छनौट गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

यसै गरी प्रदेश सरकारको निर्णय अनुसार ५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने सम्बन्धमा धरान २० को बिष्णुपादुका स्वास्थ्य चौकीमा ५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यस्तै बेरोजगार सम्बन्धी ४०९ जनाको सुची तयार गरिएको र योजना छनौट गरी सुचीमा परेकाहरूलाई रोजगारी दिने सम्बन्धमा पनि छलफल भएको खतिवडाले बताए ।

धरानको खानेपानी लगायत विभिन्न १२ एजेन्डाहरूमा छलफल भएको र बाँकी रहेका एजेन्डाहरू अर्को आइतबार बस्ने कार्यपालिका बैठकमा छलफल तथा निर्णय गरिने गरी आज बसेको बैठक स्थगित गरिएको मेयरका सोकिय सचिव राजमान श्रेष्ठले बताए ।

Agenda