धरान : धरानमा एडिबीको ऋण परियोजनाको खानेपानी प्रोजेक्टबाट लिम्बुवान सहितको पार्टीले पैसा खाएको आरोप लगाउने एकराज कोइराला विरुद्ध सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले प्रहरीमा उजुरी दिएको छ ।

खानेपानी दीर्घकालीन व्यवस्थापन सङ्घर्ष समितिले गत ६ गते आयोजना गरेको पत्रकार सम्मेलनमा ११ बुँदे सहमतिका हस्ताक्षरकर्ता कोइरालाले एमाले,माओवादी,काङ्ग्रेस,लिम्बुवानले प्रोजेक्टबाट पैसा खाएको ठोकुवा गरेका थिए । अन्य पाटीले भने हालसम्म कुनै छलफल तथा उजुरी गरेका छैनन् ।

कोइरालाले गैर जिम्मेवार अभिव्यक्ति दिएर मञ्चको बदनाम गराएको भन्दै कारबाहीको माग गर्दै लिम्बुवान मञ्चले इलाका प्रहरी कार्यालय धरानमा हिजो ८ गते ठाडो उजुरी दिएको छ ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजम, जिल्ला सचिव निर्मल राई र नगर अध्यक्ष सञ्जुहाङ साँवा लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

पैसा खाएको प्रमाण ल्याउन सके कारबाही भोग्न तयार रहेको तर भ्रष्टाचार भएको भन्ने कुरा बाहिरिए पछि सत्य तथ्य नबुझी लिम्बुवान मात्र नभै कुनै पनि दल संघसंस्थामा आरोप लगाउन नमिल्ने जिल्ला अध्यक्ष इजमले बताए । जे मन लाग्यो त्यही बोल्नेलाई कारबाही हुनुपर्ने मञ्चको माग छ ।

Limbuann