धरान :  नेकपामा विभाजन भएपछि प्रदेश नं १ का १४ जिल्ला इन्चार्ज र एक जना सह-इन्चार्जले आफूहरू प्रचण्ड-नेपाल खेमामा रहेको संयुक्त अपिल जारी गरी सार्वजनिक गरेका छन् ।

प्रदेश नं १ को १४ जिल्ला मध्ये खोटाङका सह-इन्चार्ज र अन्य १३ जिल्लाका इन्चार्जहरू र विराटनगर महानगरपालिकाका इन्चार्ज शिव कुमार मण्डलले आफूहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा रहेको प्रस्ट पारेका छन् ।

उनीहरूले बिहीबार संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनात्मक सिद्धान्त, विधि र पद्धतिमाथि ठाडो धावा बोलेको र पार्टी, जनता माथि अनुत्तरदायी, गैर जिम्मेवार र चरम व्यक्तिवादी गतिविधिहरू गर्दै आएको आरोप अपिलमा लगाएका छन् ।

उनीहरूले अपिल मार्फत प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश मात्र नभएर जनताको घोर अपमान समेत भएको उल्लेख छ ।