इटहरी : गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवाहरूले इटहरी पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए। पार्टी शुद्धीकरण अभियान चलाएका युवाहरूले नगरदेखी प्रदेश पार्टी कार्यालयमा समेत घेराउ र तालाबन्दी गरे ।

इटहरी नगर कमिटी अलोकतान्त्रिक, अपारदर्शी र मापदण्ड विपरीत अगाडी बढेको भन्दै तालाबन्दी गरेका युवाहरू पार्टी विभाजनको अवस्थामा मौन देखिन्छन् । युवा नेता सुजन लामाको नेतृत्वको टोलीले पार्टी शुद्धीकरण अभियान चलाएको थियो । पछि केही युवाहरूलाई नगर कमिटीमा समावेश गरेपछि आन्दोलन समापन भयो ।

पछिल्लो समयमा नेकपाको राजनैतिक विभाजनको अवस्थामा शुद्धीकरण अभियानका अभियन्ताहरू मौन देखिएका छन् । सोही अभियानका प्रमुख अभियन्ता लामा आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताउँछन् । युवाहरूको सपना पार्टी एकता र देशको समृद्धि भएकोले त्यो सपना पुरा गर्ने अभियानमा आफूहरू अनवरत रूपमा लागी पर्ने उनको भनाइ छ ।

उनकै भनाइमा सहमति जनाउँदै अर्का युवा नेता सुनिल कार्कीले आफूहरू सत्य र न्यायको पक्षमा रहेको बताए । युवाहरूको न्याय गर्ने पार्टीको लाइनमा आफूहरू लागिपर्ने उनको भनाई छ । खासमा भन्नपर्दा सूर्य चिन्हले युवाहरूको मत आकर्षित गर्ने उनको बुझाई छ ।

नेकपाका युवाहरू एक मत भएर अगाडी बढ्ने योजनामा देखिन्छन् । इटहरीमा हाल माधव नेपाल र पुष्पकमल दाहाल नेतृत्वको समूहले नेतृत्व गरिरहेको छ । सोही नेतृत्वको विरुद्धमा आवाज उठाएको युवा समूह ओली नेतृत्वको नेकपामा जाने सम्भावना देखिएको छ ।

पार्टी तथा युवाहरू माझ प्रभावशाली मानिएका रुपेश बस्नेत, अरुण गुरुङ, जितेन्द्र थापा लगायत नेताहरूको समूह इटहरीमा प्रभावशाली र सक्रिय युवाहरू मानिन्छ । प्रदेश सांसदद्वय लिलम बस्नेत र सर्वध्वज साँवा ओली टिममा छन् ।

संविधानसभा सदस्य रेवतीरमण भण्डारी तथा उपमेयर लक्ष्मी गौतम ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भइसकेका छन् । जसले गर्दा पुरानो नेपाल दाहाल नेतृत्वको नेकपाको वर्चस्व ओली समूहमा पुग्न सक्छ जसको निर्णय युवाहरूको भूमिकामा देखिन्छ ।

नेपाल-दाहाल समूहमा असन्तुष्ट रहेका युवाहरू ओली समूहमा लाग्ने छनक देखिन्छ ।