धरान : प्रदेश १ लाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत शुक्रवार सुनसरीबाट १ सय ५ जना सडक मानवको उद्धार गरिएको छ ।

प्रदेश सरकारले धरानबाट ६३, इटहरीबाट ३० र १२ जना बालबालिका सहित १ सय ५ जनाको उद्धार गरिएको हो । धरानमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र धरान उपमहानगरका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीको उपस्थितिमा मानव सेवा आश्रमलाई स्थानीय सरकारले ६३ जना सडक मानवहरूलाई जिम्मा लगाएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ नं प्रदेशलाई बेवारिसे मानव तथा सडक बालबालिका मुक्त बनाउने लक्ष्य राखेको छ । उपत्यका बाहिर सडक बालबालिका अत्यधिक भएको सहरमा धरान र इटहरी पनि हो ।

धरान उपमहानगरपालिमा लकडाउनको समयमा सडक मानवलाई एकीकृत गरी धरान ८ लांघाली वन उपभोक्ता समूहको आवास गृहमा राखेको थियो । माया घर नेपाल इटहरीले सडक मानवहरूको व्यवस्थापन गर्दै आएको थियो । आज एकीकृत गरी राखिएका सडक मानवको उद्धार भएको हो ।

इटहरीबाट ३० जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाइमा इटहरी र धरान उपमहानगर तथा मानव सेवा आश्रमको संयोजनमा उहाँहरूको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूलाई इटहरीको शुभारम्भ पार्टी प्यालेसमा ल्याएर कपाल,नङ काटिइदिनु साथै नुहाएर नयाँ कपडा प्रदान गरिएको थियो । पेश्को मेकअप स्टुडियो इटहरीको तर्फबाट निःशुल्क कपाल,नङ काटने कार्य भएको हो ।

१ सय ५ जना मध्ये १२ जना बालबालिकालाई भ्वाइस अफ चिल्ड्रेन इटहरीमा पठाइएको छ । अन्य ९३ जनालाई मानव सेवा आश्रम विराटनगर लगिएको छ ।

सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा सहभोज कार्यक्रम समेत सम्पन्न भएको छ । राज्यमन्त्री गजमेरले प्रदेश १ का सडकमा कोही पनि जनता भोक भोकै बस्नु नपरोस् भनेर प्रदेश सरकार उद्धारमा लागेको बताइन् ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको सहयोगापेक्षी सडक मानव उद्धार पुनर्स्थापना तथा सहभोज कार्यक्रममा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले स्वागत गरे ।

धरान उपमहानगरका प्रमुख तिलक राई, ,सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल,मानव सेवा आश्रमका सचिव सुमन वर्तोलाले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम इटहरी उपमहानगरको व्यवस्थापनमा भएको हो ।

आज उद्धार गरिएका सहयोगापेक्षी सडक मानवहरूलाई परामर्श र स्वास्थ्य उपचार पछि आफ्नो घरमा पुनर्स्थापना हुन चाहनेलाई पुनर्स्थापना र आफन्त कोही पनि भएका तथा पुनर्स्थापना गराउन नसकिएकाहरूलाई मानव सेवा आश्रममा राखिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन ।

Sadak-manab-1