धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर र विस्तार गर्दा पूर्व एमाले समूहबाट प्रेम आलेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएका छ । नमन्त्री बनेका आले सुरुमा माधव नेपालनिकट मानिन्थे ।

ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी बिस्तारै ओलीनिकट भएका थिए । विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् । आले आफैँ काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।

आले डोटीका चर्चित काठ व्यवसायी हुन । उनको काठ व्यवसाय जिल्ला विकास समितिको सदस्य, तत्कालीन नेकपा (एमाले) डोटीको उपसचिव दुई कार्यकाल रहँदा देखि काठको ठेक्कापट्टा र व्यवसाय यथावत नै रहेको डोटीका काठ व्यवसायीहरू बताउँछन् ।

संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं. २ बाट उम्मेदवार बनेपछि अप्रत्यक्ष रूपमा काठ व्यवसाय गर्दै आएका थिए । त्यसपछि काठ कटानी खोल्न दबाब दिने, आफूलाई आर्थिक सहयोग गर्नेहरूलाई ठेक्का मिलाउन सेटिङ मिलाउने र काठ व्यवसायीसँग कमिसन असुल्ने कार्यमा रहेको रहेको बताइन्छ ।

सुदूर पश्चिममा क्रियाशील काठ व्यवसायीहरूका अनुसार आफूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने काठ व्यवसायीलाई ठेक्का तथा काठ नपाएकाले आलेले वैज्ञानिक वनमा अनियमितता भएको भनी चर्को आवाज उठाएका थिए ।

कैलाली जिल्लामा वैज्ञानिक वनमा भएको अनियमितता छानबिन गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा घुस लिएको आरोपमा कारबाहीमा रहेका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई वन विज्ञको रूपमा आफूसँगै सहभागी गराएका थिए ।

यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा पनि आलेले मन्त्री बन्नका लागि आधा करोड रकम खर्चेको र नभएपछि फिर्ता मागेको विषयले तत्कालीन एमालेमा निकै चर्चा पाएको थियो ।