विराटनगर : प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूलाई उद्धार गरिएको हो ।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडक आश्रित मानवहरू अव सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले दाबी गरे । सडक मानवको उद्धार कार्य जटिल भएको बताउदैं उनले प्रदेश सरकारले आगामी वैशाख भित्रमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिसक्ने बताए ।

प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रूपमा गर्दै आएको मन्त्री घिमिरेले बताए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरूको व्यवस्थापनमा सहज भएको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट सुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताए ।

उनले आगामी २०८२ भित्रमा नेपाललाई शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाश मुनी रात बिताउन विवश घरबार विहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरू रहित राष्ट्र नेपाल निर्माण गरिने बताए ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सडकमा बेसहारा, असहायहरू अबदेखि नहुने प्रतिबद्धता व्यक्त गरिन ।

मानव सेवा आश्रमले पुस ७ गतेदेखि सुरु भएको मेची-महाकाली अभियान अन्तर्गत झापाबाट ७६, सुनसरीबाट १११ र मोरङबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए ।

उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् । उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाइएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीले जानकारी दिए ।

उद्धार गरिएकाहरूमा ५ देखि ८० वर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए ।