पथरी : पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि जित्दै टेन नवोदय फुटबल क्लबले इतिहास रचेको छ ।

आज सम्पन्न फाइनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै टेन नवोदय फुटबल क्लबले उपाधि कब्जा गरेको हो । खेलको ५८ औँ मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको गोल नै निर्णायक बन्न पुग्दा द रियल ब्रदर्स उपविजेता बन्न पुगेको छ ।

प्रतियोगिताको विजेता टेन नवोदयले उपाधिसँगै नगद १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता द रियल ब्रदर्सले ७५ हजार रुपैयाँ पाएको छ। फाइनल खेलको मेन अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे भएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत टेन नवोदयका अर्जुन बस्नेत नै घोषित भएका छन्। उत्कृष्ट डिफेन्स द रियल ब्रदर्सका तीर्थराज बस्नेत, उत्कृष्ट मिडफिल्ड सिरिजंङ्गाका जहरमान लिम्बू, उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी, उदयमान खेलाडी वाईजिएफटीका सञ्जय लिम्बु घोषित भएका छन्।

विधागत उपाधि विजेताहरूले जनहि५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको फेयर प्लेको उपाधि देविगञ्ज फुटबल क्लबले पाएको छ भने उत्कृष्ट प्रशिक्षक विजेता टोलिका प्रशिक्षक साजन काङ्वा बनेका छन्।