धरान :  प्रदेश १ को आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको छ ।

आज बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते हिउँदे अधिवेशन तथा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यसै गरी भौतिक पुर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राईले हिजो मात्रै अर्थमन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबिच सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन मन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।