धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरिएको कदमलार्ई संविधान र सङ्घीयता विरोधीको संज्ञा दिएका छन् ।

‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, सङ्घीयतालाई असफल बनाउने निर्देशित ढङ्गबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भने ।

आज मुख्यमन्त्रीले आफ्नो कार्यकक्षमा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरूको साथ पाउने आशा गरेको बताए ।

प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने सङ्केत गर्दै मुख्यमन्त्री राईले ‘यो स्वाभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरूसँग छलफल गर्छौ । सबै दलहरू बिचको सहमति बन्छ’, राईले भने ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव पेस गरेपछि दलहरू गम्भीर भएको दाबी गरेका छन् । उनको भनाइ छ, ‘अविश्वासको प्रस्ताव आएपछि सबै दलहरू गम्भीर छन् । किनकि, यो प्रदेशमाथि नै प्रहार हो ।’