सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबिच गोली हानाहान भएको छ ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबिच भिडन्त भएको हो । तर कुनै क्षतिको विवरण अहिले सम्म नआएको उनले बताए ।

जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेत ३ जना मैदानेमा लुकेर बसेको र गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी आक्रमण भए पछि प्रहरीले गोली चलाएको थियो ।

चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । प्रहरीले विस्फोटक सामग्री बरामद गरेको जनाएको छ । भिडन्तपछि उनीहरू जङ्गलतिर भागेका छन् ।

उनीहरूको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबिच भिडन्त भएको थियो ।