इटहरी : प्रदेश १ सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनैतिक माहोल थप तातिएको छ ।

मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा रहेको प्रदेश सरकारका ४ जना मन्त्री बाहिरिए सँगै प्रदेश सरकार धरापमा परेको छ । त्यसको फड्के किनाराको साक्षी बनेको छ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ।

नेकपाको ६७ सांसद मध्ये नेकपाका प्रचण्ड नेपाल समूहका ३७ जनाले मुख्यमन्त्री सेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएसँगै नेकपा ओली समूहका मुख्यमन्त्री राई नेतृत्वको सरकार सङ्कटमा परेको हो ।

मुख्यमन्त्री राई आफ्नो प्रस्ट बहुमत पुग्ने भन्दै राजीनामा नदिने पक्षमा देखिन्छन् भने आचार्य समूह उनलाई जसरी पनि राजीनामा गराउने पक्षमा देखिएको छ । राई केही मन्त्रालय दिएर आचार्य समूहका सांसदहरू आफ्नो पक्षमा पारेर बहुमत पुर्‍याउने दाउमा छन् ।

यस अघि पनि संसदीय दलमा राईले आचार्यलाई जम्मा २ मतले मात्र पराजित गरेका थिए । नभए कांगेससंगको सहकार्यमा सरकार बनाउने राईको तयारी देखिन्छ । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले काँग्रेस सँग मिल्न सकिने सङ्केत गरेका छन् ।

उता आचार्य समूहको नेकपा भने आफ्नै बहुमत पुग्ने दाबी गरिरहेको छ । तर हाल ९३ सांसद मध्ये सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । भोलि कुनै राजनैतिक कायापलट नभएमा काङ्ग्रेससँग सहकार्य नगरी दुवै समूहको बहुमत पुग्ने छाटकाट देखिँदैन ।

२१ सिट सहित दोस्रो दल बनेको काँग्रेस अहिले प्रमुख भूमिकामा देखिन्छ । अन्य जनता समाजवादी पार्टीका ३, राप्रपा र सङ्घीय लिम्बुवान मञ्चका १/१ सांसद छन् ।

ओली र प्रचण्ड नेपाल दुवै पक्षसँग सहकार्य गर्दा सरकार बनाउन सक्ने हैसियतमा रहेको काँग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ । सङ्घीय संसद् भङ्गको विरुद्धमा पुस १३ गतेको क्षेत्रीय स्तरको राष्ट्रव्यापी आन्दोलन पछि काँग्रेस थप निर्णयमा पुग्ने देखिएको छ ।

पार्टी नेतृत्वको इसारा अनुसार नै अगाडी बढ्ने योजना रहेको प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला बताउँछन् । विरोध सभामा सहभागी हुन नेताहरू जिल्ला आएकोले परामर्श गरेरै निर्णय गरिने उनले बताए ।

भर्खरै मात्र सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोले कुनै प्रतिक्रिया दिन हतारो हुने उनको तर्क छ । सरकारमा सहभागी हुने विषयमा पार्टी निर्णयमा भर पर्ने उनको बुझाई छ ।

प्रमुख सचेतक केदार कार्की आफूहरू पर्ख र हेर कै अवस्थामा रहेको स्वीकार गर्छन् । पार्टीको संसदीय दलको बैठक बसेर केन्द्रीय तहको निर्णय बमोजिम अगाडी बढ्ने उनको भनाई छ ।

सङ्घीय सरकार कहिल्यै सङ्घीयताको पक्षमा नरहेको स्मरण गराउँदै उनले सङ्घीयता फेल गराउने अभ्यास भइरहेको बताए । तर काँग्रेस जहिल्यै परिवर्तन र विकासको पक्षपाती भएको उनी बताउँछन् ।

उता सचेतक सुयर्माराज राई काँग्रेसले प्रतिपक्षमा बस्ने जनमत पाएकोले लोकतन्त्रको रक्षाको लागी पनि प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

लोकतन्त्र र सङ्घीयता टिकाउने मात्र हैन यसलाई विकसित गर्न पनि काँग्रेस दृढसंकल्पीत भएको भन्दै त्यसै अनुसार अगाडी बढ्ने उनको भनाइ छ । अब केन्द्रीय नेतृत्वको निर्देशन र संसदीय दलको निर्णय बमोजिम अगाडी बढ्ने उनले बताए ।