झापा : जिल्ला प्रहरी कार्यालय झापाले नागरिकता सम्बन्धी कसुरमा ३ जना पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा झापा गौरीगंज वडा नं.३ बस्ने इलाका प्रशासन कार्यालय गौरिगंज झापाका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जय कुमार शाह, गौरीगंज वडा नं. ६ बस्ने इलाका प्रशासन कार्यालय गौरिगंजका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह ७ बस्ने ५९ वर्षीय कृष्ण प्रसाद तिम्सिना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले झापा जिल्ला साबिक जुरोपानी ८ हाल गौरादह नगरपालिका वडा नं. ७ स्थायी ठेगाना देखाइ अमृत राई, दीपिका राई र विशाल राईलाई नागरिकता वितरण गरेका थिए ।

तर, वितरण गरिएका नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगंजमा नभएकोले नागरिकता सम्बन्धी सफ्टवेयर प्रयोग गरी उक्त नागरिकताहरू किर्ते गरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गर्दा नागरिकता प्राप्त गर्ने व्यक्तिहरू र नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेकाले कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात् उक्त विवरण इडिट गरी पुन विभिन्न मितिमा सोही नम्बरका नागरिकताहरू अन्य व्यक्तिहरूलाई वितरण गरिएको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ परेका ३ जनालाई जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।