धरान : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् विघटनविरुद्ध आज देशभर विरोध प्रदर्शन गर्दैछ ।

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै काँग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभाहरू हुँदैछन् ।

धरानमा पनि नेपाली काँग्रेसले धरानको छाताचौकमा भेला भएर नारा जुलुस सहित भानुचौकको लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभा गर्ने नेपाली काँग्रेस धरान नगर कमिटीका सचिव श्याम पोखरेलले बताए ।

भानुचौकको लोकतान्त्रिक चौतारीमा हुने कोण सभामा सुनसरीका केन्द्रित तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने सचिव पोखरेलले बताए ।