धरान : सुनसरीको धरान उपमहानगरपालिका १५ सदन रोडमा सञ्चालित मुसरत मेडिकल हलका सञ्चालक अनधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् ।

मेडिकल हलका सञ्चालक भोक्राहा नरसिंह गाउँपालिका ६ का २७ वर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले आलमको मेडिकल हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामा रहेको ७००० ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याब्लेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX  खुल्ला अबस्थामा रहेको ९८० ट्याब्लेट बरामद गरेको छ ।

अवैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारबाहीकोलागी औषधी व्यवस्था विभाग विराटनगर बुझाउने तयारी भइरहेको छ ।