विराटनगर : नेपाली काँग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला नेपाली काँग्रेस आफ्नै बलबुतामा अगाडि बढ्ने र सरकारमा नजाने प्रस्ट पारेका छन् ।

सङ्घीय संसद् विघटनका विरुद्ध विराटनगरमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले काँग्रेसले अब सडक नछाड्ने बताएका हुन् ।

सरकारले वैशाखमा निर्वाचनको घोषणा गरे पनि त्यसको सुनिश्चितता नभए सम्म आन्दोलन जारी राख्ने उनले बताए । काँग्रेस सडकमा आएपछि जस्तोसुकै सत्ता पनि ढलेको इतिहास रहेकोले अब निर्वाचन पछि काँग्रेसको सरकार बन्ने उनले बताए । काँग्रेसको सरकार बनेपछि लोकतन्त्र र राष्ट्रियता मजबुत हुने उनको भनाइ छ ।

Congress-Birodh-1 5

त्यस्तै काँग्रेस नेतृ डाक्टर डिला संग्रौलाले सर्वसत्तावादी सरकारले गर्दा काँग्रेस सडकमा आएको बताइन ।
संविधान माथि आक्रमण गरेर मन्त्रीमण्डल बिस्तार गरेर केपी शर्मा ओलीले अपराध गरेको उनको भनाइ छ ।

मास्क किन्दा भ्रष्टाचार गर्ने सरकारले उखु किसानको पैसा उपलब्ध गराउन खुट्टा कमाएको उनको आरोप छ । केपी ओलीको सरकार समाप्त नभए सम्म आन्दोलन जारी रहने उनले बताइन् ।

विराटनगरको वीरेन्द्र सभागृह बाट निस्किएको र्‍याली जनआन्दोलन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । हजार बढी कार्यकर्ता उपस्थित सभामा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, काँग्रेस मोरङ जिल्ला सचिव नागेश कोइराला लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

यसै गरी यता धरानमा पनि काँग्रेसले विरोध प्रदर्शन गरेको छ । धरानको छाताचौकबाट सुरु भएको र्‍याली भानुचौकको लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाली काँग्रेसका जिल्ला सदस्य राजीव लामाले ओली सरकारले मन खुसी संविधान मिच्दै गरेको मन्त्रीमण्डल पुनर्गठन,प्रतिनिधिसभा विघटन, संविधानवाद र लोकतन्त्रको मर्म विपरीत भएको बताए । त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरी नेकपाले गरेको लापरबाहीले हो ’ । त्यसले यस्तो कदम नगर्ने तत्काल सच्याउन उनले आग्रह गरे ।

Congress-Birodh-2 5

नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलले नेपाली जनताले संसद् विघटन कुनै हालतमा स्वीकार नगर्ने बताउँदै दुई तिहाइ मतको जितको सरकारले बदलामा जनतालाई सडकमा आउन बाध्य बनाएको बताए । प्रथम महिला राष्ट्रपति भनेर गर्व गर्दा विवेक प्रयोग नगरेको औँठा छाप बनेको बताउँदै पेचिलो मुद्दाको मात्र अब न्यायालयमा प्रतीक्षामाछौ उनले भने ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले संविधान मिचिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक झगडा कलहलाई व्यवस्थापन गर्न नसकेर, राजनैतिक पद कुर्सी नमिलेर, पार्टी कब्जा गर्न नपाएर मुलुकलाई ठुलो दुर्घटनामा पुर्‍याएको बताए ।

विरोध सभामा पूर्व प्रतिनिधि सभाकी सांसद मिना सुब्बा, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मुरारी भट्टराई लगायतले संसद् विगठनको चर्को विरोध गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् विघटन विरुद्ध आज देशभर विरोध प्रदर्शन गर्दैछ ।

Congress-Birodh-3 5