धरान : धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा गएराती झ्याल ढोकाका सिसाहरू तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर १३ का २५ वर्षीय रोशन यादव र सप्तरी भारदहका २७ वर्षीय केशव यादव रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

गए राती करिब ११ बजेतिर प्रतिष्ठानको इन्टर्न होस्टेलमा तोडफोड गर्दा होस्टेलको मेन ढोकाबाट प्रवेश गरेपछिको कोरिडोरका सिसाहरू पूर्ण रूपमा फुटेका छन् ।

प्रहरीका अनुसार तोडफोड भएको क्षतिको विवरण आएको छैन । पक्राउ परेका दुवैको मेडिकल रिपोर्टमा अल्कोहल (मादक पदार्थ) सेवन गरेको पाइएको छ ।

पक्राउ परेका रोशन प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत छन् भने केशव भने प्रतिष्ठानको होस्टेलको नभएको र पटक पटक प्रहरी नियन्त्रणमा परिसकेको होस्टेल प्रशासनले जनाएको छ ।

प्रतिष्ठानको भिआइपी सेक्युरिटी सर्भिसका कर्मचारी प्रवीण राईले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका दुवै जनालाई अभद्र मुद्दा अन्तर्गत कानुनी कारबाही गरिने बस्नेतले बताए ।