झापा : प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनकै गृह नगर झापाको दमकमा प्रदर्शन भएको छ ।

सोमबार साँझ प्रचण्ड-माधव समूहका नेकपा कार्यकर्ताले झापाको दमकमा प्रधानमन्त्री ओली मुर्दावाद, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, विदेशी दलाल होसियार लगायतका नारा सहित राँके जुलुस निकालेका छन् ।

राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत भएको थियो ।

पार्टीलाई जबरजस्ती फुटाएर प्रधानमन्त्री ओलीले सारा कार्यकर्ता निराश पारेको र अभिमत प्राप्त संसद् विघटन गरेर अधिनायकवाद तर्फ उन्मुख भएका ओलीले आफू कम्युनिस्ट हुँ भन्न पनि लजाउनुपर्ने नेकपा नेता महेन्द्र भट्टराईले बताए ।

दमकमा निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उनीहरू नाराबाजी गर्दै दमकको गणतन्त्र चोक पुगेका थिए ।

गणतन्त्र चोकमा कोणसभा आयोजना गरी उनीहरूले ओलीको कदमको भर्त्सना गर्दै विरोध जनाएका हुन् ।