धरान : इलाका प्रहरी कार्यालय इटहरीले ल्यापटप चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

थप एक जनालाई चोरीको ल्यापटप किनेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार गत पौष १० गते इटहरी ६ स्थित अल इलेकट्रोनिक्स एन्ड टेक्निकल इलेकट्रोनिक्स इन्स्टिच्युटको कार्यालयबाट डेल कम्पनीको कालो रङको ल्यापटप चोरी भएको थियो ।

ल्यापटप चोरी गर्ने मानिसहरूको सिसी टिभीको फुटेजको आधारमा खोजतलास गर्ने क्रममा इटहरी १० बस्ने वर्ष ३० को मनोज कार्कीलाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

ल्यापटप चोरी पछि कार्कीले इटहरी ६ स्थित विराटनगर लाइनमा सुनचाँदी व्यवसाय गर्दै आएका इटहरी २ बस्ने वर्ष २८ का श्याम बिकलाई बिक्री गरेका थिए ।

बिकले उक्त ल्यापटप पसलमा चलाई रहेको अवस्थामा फेला परेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।