धरान : सुनसरीको कोशी गाउँपालिकामा फेरि जङ्गली हात्ती 'मकुना'को आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गए राती साढे ८ बजे कोशी गाउँपालिका-५ बस्ने १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अहिले हात्ती पीडित, स्थानीयवासी, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, जनप्रतिनिधि सहितको सर्वपक्षीय छलफल भइरहेको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकको शव सहित आन्दोलनमा उत्रिएका हात्ती पीडितहरूले पूर्वपश्चिम सडक खण्ड समेत अवरुद्ध गरेका थिए ।

अहिले प्रर्दशनकारीहरुले मृतकको शव सहित आरक्षको कार्यालयमा पुगेर सर्वपक्षीय छलफल जारी रहेको बताइएको छ ।