धरान : प्रदेश सरकारद्वारा सडक मानवहरूको उद्धार गरिएको केही दिनमै धरानको मुख्य सडक भानुचोक देखि छाताचोक सम्म जाताजतै नेपाली बोल्नै नजान्ने माग्नेहरू देखिन थालेका छन् ।

धरानमा अहिले २० जना सडकमै मागेर जीवन गुजारा गर्नेहरू भित्रिएका छन् । जताततै छरिएर उनीहरूले माग्दै आएका छन् । विशेष गरेर धरानको भानुचौक स्थित बसस्टेण्डमा कचौरा बोकेर माग्दै हिँड्ने थुप्रै बालबालिकाहरू देखा पर्न थालेका छन् ।

यसै गरी काखे बालक च्यापेका महिलाहरू पनि सडकमा माग्दै गरेको अवस्थामा धरानमा अहिले भेटिन थालेका छन् । कचौरा वा हात फैलाउँदै पैदल यात्रीलाई पछ्याउने केटाकेटीदेखि बद्धसम्मका मानिसहरू केही दिन देखि धरानमा देखिन थालेका छन् ।

यति मात्रै होइन धरानमा मिगौैंलाका बिरामी, मुटुका बिरामीको बहानामा सडकमा माग्दै बस्ने र माइकिङ गर्दै घरघरमा पुग्ने र सडकमै माग्नेहरूको पनि निकै ठुलो सङ्ख्या देखिएको छ । यसरी विभिन्न वाहानामा माग्नेहरू साँझपख रक्सी खाएर मातेर हिँड्ने गरेको पनि पाइएको छ ।

Magne-4

चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ नं प्रदेशलाई बेवारिसे मानव तथा सडक बालबालिका मुक्त बनाउने अभियान अन्तर्गत शुक्रवार धरानबाट ६३ गरी सुनसरीबाट १ सय ५ जना सडक मानवको उद्धार गरेको थियो ।
उपत्यका बाहिर सडक बालबालिका अत्यधिक भएको सहरमा धरान र इटहरी पनि हो ।

सरकारले उद्धार गरेपछि झन् सडकमा धेरै बालबालिकाहरू देखिएका छन् । सडकमा देखिनेहरू अधिकांश राम्रोसँग नेपाली बोल्न जान्दैनन् । उनीहरूले धरान घुम्न आएका पर्यटकहरूलाई पैसा माग्ने, नदिए खोस्ने, पैसा दिँदा दिँदै पर्स लिएर भाग्ने, पछ्याउने, खादै गरेको खानेकुरा खोसेर समेत लिने गरेका छन् ।

उनीहरूले गर्ने व्यवहारबाट धेरै जना दिक्क भएका छन् । उनीहरूले जताततै दिसा पिसाब गरेर, खादै फोहर फाल्नाले समग्र धरान सहर र व्यवस्थापनमा प्रश्न उठेको छ ।

प्रदेश १ लाई सडक मानव मुक्त बनाउने प्रहरीले सडकमा देखेकाहरूलाई प्रदेश सरकारलाई खबर गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । उक्त छलफलमा धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत समेत रहेका थिए ।

Magne-3

यस विषयमा बस्नेतसँग कुरा गर्दा उनले भने माग्नेहरूलाई लखेटेर जा भन्दा एकै छिनमा कता जान्छन् भोलि आइहाल्छन् । पुरै व्यवस्थापन गर्ने कोही भए, सुरक्षाको लागी तयार छौ ।

परिवारबाट लखेटिएको, आफ्नो कोही पनि नभएको, धेरै दिनदेखि खाना खान नपाएको जस्ता बहाना उनीहरू बनाउँछन् ।

यसरी धरानमा माग्ने प्रवृत्ति विकृतिको रूपमा विस्तार भइरहेको छ । बटुवालाई छेकेर दयनीय अवस्था दर्साउँदै कागजात देखाएर मागेकै भरमा उनीहरू आफ्नो जीवन चलाइरहेका छन् ।

अपवादमा कोही असहाय होलान्, तिनीहरू रोगबाट पीडित होलान्, काम गर्न नसक्ने होलान् । तर यसरी सडकमा नक्कली कागजात बनाएर माग्न हिँड्नेहरूको सङ्ख्या कति छ ? कसैलाई थाहा छैन । उनीहरूबारे अहिलेसम्म कुनै निकायले छानबिन पनि गरेको छैन ।

सडक बालबालिकाहरूलाई पुनर्स्थापना गर्ने प्रतिबद्धता विभिन्न संस्थाले गरे पनि सडक बालबालिकाको सङ्ख्या बढ्दो छ । उनीहरूको व्यवस्थापनका लागि कहीँ कतैबाट सरोकारवाला निकायले चासो पनि देखाएका छैनन् ।

धरानका मेयर तिलक राईले सडक मानवलाई व्यवस्थापन गर्नका लागी एक सूचना जारी गरेर कसैलाई पनि पैसा नदिन अनुरोध गर्ने बताए ।

उनले यसरी भित्रिएका मानवहरूको जानकारी थिएन अब हामी प्रहरी प्रशासन सँग समन्वयन गरेर तत्काल व्यवस्थापन गर्ने बताए । मेयर राईले माग्नेहरूलाई पैसा नदिँदा माग्नेहरू आफै निरुत्साहित हुन्छन् । उनीहरूमा आसे प्रवृत्ति भएकाले फेरी सडकमा आउँछन् ।

Magne