आज मार्गशीर्ष शुक्ल पूर्णिमा,आज धान्यपूर्णमा, उँधौली पर्व, योमरी पूर्णिमा एवम् हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होसार पनि मनाइँदै छ ।

धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा गरी नयाँ धान भित्र्याएको खुसीयालीमा ‘धान्यपूर्णमा’ मनाउने परम्परा रहेको छ। धानलाई लक्ष्मीको प्रतीकको रूपमा पूजा गर्नाले, भकारीमा भरेको धान कहिल्यै कम नहुने र सदैव धनधान्यले भरिपूर्ण हुने विश्वास रहेको छ र यसै धार्मिक मान्यता अनुसार ‘धान्य पूर्णिमा’ मनाउने गरिएको हो।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी-देवताहरूलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुल देवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ ।

आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उँधौली सकेला र लिम्बुहरूको चासोक तङ्नाम धूमधामसँग मनाइँदै छ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्त रूपमा सबैले उँधौली सकेला अर्थात् किरात पर्व मनाउँछन्।

chasok tangnam

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताका रूपमा समेत लिने गरिएको छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमि) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास समेत किरात जातिमा रहेको छ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार यस पर्वलाई पुकार्ने चलन छ ।

योमरी पूर्णिमा नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदै छन् जसलाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठुलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि रहेको छ ।

yamari2

तमु ल्होसार गुरुङ जातिहरूको महान् चाड तमु ल्होसार आज भव्य रूपमा मनाइँदै छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो विक्रम संवतका अनुसार पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन रहेको छ।

तमु ल्होसारले गुरूङ् समुदायको भित्ते पात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ । हिजो देखि साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिएको थियो। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट गरी नाता कुटुम्बहरूलाई बोलाएर भोज खुवाएर अत्यन्तै धूमधामका साथ यस पर्वलाई मनाइँदै छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड र पटुकी बाँध्छने गर्छन्।

losar-9