धरान : खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

खोटाङको रावाबेशी गाउँपालिका १ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक स्थानीय २६ वर्षीय राजन नेपालीको मृत्यु भएको हो ।

पार्किङ गरेर राखेको ट्याक्टरलाई सह चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका सह चालकलाई स्थानीय मेडिकलमा उपचार गरी थप उपचारको लागी अस्पताल लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसैगरी मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङ्करले पछाडिबाट ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय रोहित साहलाई उपचारको लागी कोसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।