धरान : आज योमरी पुन्हि : यस शुभ अवसरमा धरानको विजयपुर स्थित लामो समयदेखि ठुलो ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व हुँदा–हुँदै पनि अस्तित्व विहीन जस्तो भएर रहेको श्रीगणेश भीमसेन मन्दिरको आज विधिपूर्वक पूजा अर्चना गरिएको छ ।

यस विशेष अवसरमा यस श्रीगणेश भीमसेन मन्दिरमा नेवारी प्रचलअनुसार विधिवत पुजाअर्चना गरेर स्थापित देवताहरूको आरधना गरिएको हो ।

Ganesh-Mandhir-2

स्थानीय ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज यस मन्दिरको ऐतिहासिक अस्तित्व झल्काउनका र धार्मिक महत्त्व सबैमा अवबोध गराउनका लागि आज साँझ ५ बजे भव्य रथयात्रा गरिने भएको हुँदा यात्रा पश्चात् प्रसाद वितरण पनि रहेको मन्दिर व्यवस्थापकहरूको भनाई छ ।

यस मन्दिरमा माहाभारत कालिन पाँच पाण्डव मध्येका भीमसेनको मूर्ति लगभग १ फिटको ढुङ्गाको मूर्ति, २ वटा मुग्दल , गणेशको मूर्ति, वि.सं १९६२ सालमा गौरीनारायण नाम गरेका भक्तले चढाएको मूर्ति , मन्दिरको बाहिर पट्टि १९५९ साल अङ्कित गरिएको घण्टी लगायतका अन्य पौराणिक एवम् पुरातात्त्विक महत्त्व भएका ससाना मूर्ति र सामानहरू पनि यहाँ विद्यमान छ ।

मन्दिरको बाहिर देखिने खम्बामा शिलालेख अवस्थित छ यस शिलालेखमा मेटिन लागेका अस्पष्ट अक्षरहरू पुरातात्त्विक अनुसन्धान योग्य भएता पनि यसमा कसैको ध्यान र चासो रहेको पाइँदैन ।

यो मन्दिर अव्यवस्थित र ठप्प भए जस्तो देखिएता पनि भित्री रूपमा निरन्तर चलिरहेको स्थानीयहरूको भनाई छ । विगतमा यस मन्दिरको कोष स्थापना भएता पनि यसका अवयस्क कागजातहरू आगोलागि र हराएर नष्ट भएको थियो ।

यसै कोषलाई निरन्तरता दिँदै स्थानीय नेवारी समुदाय द्वारा सो कोषको पुनर्गठन गरेर देश विदेश एवम् स्थानीय तहबाट सहयोग सङ्कलन गर्दै आएको छ ।

Ganesh-Mandhir