धरान : विश्वव्यापी कोरोना भाइरसको महामारीले कुनै पनि चाडपर्व, मेला उत्सवहरू सबै बन्द भएको बेला धरानमा भने आज देखि दुई दिने यःमरी उत्सव सुरु भएको छ । 

Yamari-3

नेवार समुदायको महत्त्वपूर्ण चाड यःमरी पुन्हिको अवसरमा धरानमा यस्मरी उत्सवको सुरु गरिएको हो ।
आज र भोली दुई दिन धरान ३ स्थित शंखधर मार्ग गल्ली टोलमा स्थानीयबासीले यःमरी उत्सव आयोजना गर्ने बुधवार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ । 

Yamari-2

स्थानीयवासीले घरघरबाट यःमरी लगायत नेवारी परिकारहरू तयार गरी विक्री वितरण गर्ने र घर घरमा लाने पनि व्यवस्था मिलाएको स्थानीय आयोजक तथा नेवा देय दवूका सचिव अमृत श्रेष्ठले बताए ।

धरानको ऐतिहासिकता बोकेको नेवार समुदाय बसोबास भएको महत्त्वपूर्ण बस्तीमा यो कार्यक्रम गर्न लागिएको स्थानीय आयोजक तथा नेवाः देय दवूका केन्द्रीय सदस्य अनिल मास्केले जानकारी दिए ।

Yamari-1

कोभिडको कारण विगतमा जस्तो ठुलो कार्यक्रम गर्न नसकिए पनि नेवारी संस्कार र संस्कृतिलाई जीवन्त राख्न यो नयाँ तरिकाबाट कार्यक्रम आयोजना गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले बताए ।

य:मरी उत्सवमा नेवारी खाजा सेटको सगुन, खानेकुरा छोइला, साधेको अचार आलुदम साधेको ,रोटी, बारा गुन्द्रुकको अचार, कुखुराको भुटन, अन्डा र सुराइमा राखिएको वासा (रक्सी) आदि पनि रहेको थियो ।  आज सुरु भएको सङ्गीतमय यःमरी महोत्सवमा विभिन्न  नेवारी नृत्य र गायन समेत हुने आयोजकले जनाएको छ । 

बिजयपुरमा रथयात्रा :

धरान १४ विजयपुरमा बसोबास गर्ने नेवार समुदायले यःमरी पुन्हिको अवसरमा गणेश भीमसेन मन्दिरबाट रथ निकालेर रथ यात्रा गरेका छन् । 

Rathyatra

स्थानीय रमेश श्रेष्ठका अनुसार विजयपुर धरानको पुरानो बजार मध्येको एउटा धरानको ऐतिहासिक बजार हो । यहाँ पहिले देखि नै यःमरी पुन्हिको अवसरमा यसरी गणेश भीमसेनको मन्दिरमा पूजा गरी साँझमा रथ यात्रा गर्ने चलन रहेको उनले बताए ।

रथयात्रामा विजयपुरमा बसोबास गर्ने स्थानियबासीहरुको सहभागिता रहेको थियो ।