धरानः सेछ ट्राभलिङ धरानले मस्तिष्क पक्षाघात भएर अस्पतालमा उपचाररत रहेका सञ्चारकर्मी दिलीप रिनोहङलाई आर्थिक सहयोग गरेको छ ।

सेछले बर्षेनी प्रदान गर्दै आएको पर्यटन पत्रकारिता पुरस्कारको रकम १० हजार यो बर्ष सञ्चारकर्मी राईलाई सहयोग गरेको हो ।

बुधबार क्लिक धरानको कार्यालयमा आयोजित एक कार्यक्रममा सो रकम धरानका मेयर तिलक राईले रिनोहङकी श्रीमती झरना थापामगर राईलाई हस्तान्तरण गरेका थिए ।

सेछले बर्षेनी प्रदान गर्दै आएको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार राशि यसपालि पुरस्कार वितरण नगरी उपचाररत सञ्चारकर्मीलाई सहयोग गर्ने निर्णय गरेको प्रबन्ध निर्देशक एलिना मगरले बताइन् ।

मेयर राईले धरान उपमहानगरपालिकाले पनि सञ्चारकर्मी राईलाई नगद २५ हजार सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

धरानको विजयपुर एफएममा कार्यरत सञ्चारकर्मी रिनोहङ एक महिनाअघि मस्तिष्क पक्षाघात भएर नोबेल अस्पतालको न्युरो वार्डको १२ नम्बर बेडमा उपचाररत छन् । उनको उपचारमा धेरै खर्च भइसकेकोले सञ्चारकर्मीहरुले पनि सहयोग सङ्कलन अभियान चलाइरहेका छन् ।