धरान : शिव बाबा भक्त समाज नेपालले धरान ८ विश्वकर्मा मन्दिर तीनकुनेबाट बुधबार श्रीमद् भागवत महापुराणको अवसरमा विधीवत रूपमा कलश यात्रा निकालेको छ ।

विश्वकर्मा मन्दिरबाट निकालिएको कलश यात्रा सेउती खोलाको किनारको पन्डालमा पुगेर सम्पन्न भएको थियो । शोभा यात्रामा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

कलश यात्रामा समाजकी संरक्षक माता सन्जना तिम्सिनाले श्रीमद् भागवत महापुराणको पुस्तक सिरमा राखी शोभा यात्रा सुरु गरेकी थिइन ।

मानव कल्याणको कामना गरी पवित्र भावना राखेर दुर्घटना न्यूनीकरण,विश्वशान्ति,ज्ञात अज्ञात पितृ मोक्ष, साथै कोरोना निवारणका लागि महायज्ञ हवन समेत गरिने समाजले बताएको छ ।

धर्माचार्य पण्डित कृष्णप्रसाद गुरागाईले सप्ताह पुराणको प्रवचन गर्ने छन् भने ५ जना उपवाचकहरूको साथ ७ दिन सम्म भागवत कथा वाचन गर्ने समाजका अध्यक्ष भैरव प्रसाद नेपालले जानकारी दिए ।