धरान : याक्थुङ लिम्बू इतिहासकार तथा याक्थुङ मुन्धुम अध्येता स्व.भरत तुङघङको व्यक्तित्व, कृतित्त्व जीवन्त राख्नको लागि मुन्धुमविद् स्व. भरत तुङघङ स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ ।

स्मृति ग्रन्थ प्रकाशनका लागि धरानमा बुधवार स्व.तुङघङको श्रीमती शशी चेम्जोङ तुङघङको अध्यक्षतामा बसेको बैठकले तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङको संयोजकत्वमा मुन्धुमविद् स्व.भरत तुङघङ स्मृति ग्रन्थ सम्पादन समिति बनेको छ ।

सो समितिको अन्य सदस्यहरूमा भैरब आङ्ला, मोहन तिगेला, हितराम तिल्लिङ र सन्तोष कुरुम्बाङ रहेका छन् ।

बैठकमा मुन्धुमविद् स्व.भरत तुङघङका काका प्रदेश नं. १ का पूर्व प्रमुख डा.गोविन्द सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

मुन्धुमविद् स्व. भरत तुङघङको बारेमा मेयर अर्जुनबाबु माबुहाङ, आइत खजुम, सुवास तेङयुङ लगायतले आ -आफ्नो धारणा राखेका थिए ।

स्मृति ग्रन्थमा स्व.भरत तुङघङले लिम्बुहरूको मुन्धुम, इतिहास जे जति सङ्कलन गरेर राखेका थिए तिनै सामाग्रीहरूलाई समेटेर पुस्तककोरुपमा प्रकाशन गरिने बताइएको छ ।

समितिले केही महिना भित्र स्मृति ग्रन्थ तयार गर्नेछ । साथै प्रकाशन समितिको संयोजकमा उहाँको धर्मपत्नी शशी चेम्जोङ तुङघङ रहेकी छिन् ।