इटहरी : नेकपाको राजनैतिक विभाजन पछि देखा परेको साङ्गठनिक रणनीति सुनसरीमा पनि सुरु भएको छ । नेकपा सुनसरीमा प्रचण्ड नेपाल समूहको बलियो उपस्थिति देखिन्छ । कमजोर देखिएको ओली समूह आफ्नो सङ्गठन बलियो बनाउन प्रयासरत देखिन्छ । त्यसको लागी सङ्गठनमा युवा र विद्यार्थीको आकर्षित गर्न नयाँ रणनीति तय गरिएको एक विद्यार्थी नेताले बताए ।

पहिलो पुस्तामा प्रचण्ड-नेपाल समूहको उपस्थिति बलियो भएपनी दोस्रो पुस्ताका नेकपाका युवाहरूलाई नेतृत्वदायी भूमिका दिने गरी कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

ओली समूहका प्रभावशाली युवा नेता रुपेश बस्नेत पार्टी प्रबिधीक रूपमा मात्र विभाजन हुन बाँकी रहेकोले अब जिल्ला देखी नगर कमिटीमा युवाहरूको उपस्थिति बलियो बनाउने तयारी थालिएको बताउँछन् ।

बोलेर भन्दा पनि नेतृत्व दिएर युवाको आकर्षण बढाउन सकिने भएकोले त्यसै अनुसार रणनीति बनाउन थालिएको उनको भनाइ छ । पटक-पटक नेतृत्वमा पुगेर परीक्षण भइसकेको नेताहरूबाट पार्टी अगाडी नबढ्ने उनले बताए । कसैसङ असन्तुष्ट भएर वा नेतृत्व हत्याउने दाउमा ओली समूहमा लाग्नेहरूले नेतृत्व नपाउनेमा विश्वस्त हुने उनले आग्रह गरेका छन् ।

त्यस्तै ओली समूहका विद्यार्थी नेता जीवी गजल अब बन्ने नयाँ पार्टीको सुनसरी जिल्ला कमिटीमा ५० प्रतिशत युवाहरूको उपस्थिति सुनिश्चीत गर्न लागी परिएको बताउँछन् ।
लामो समयदेखि एउटै नेता र एकै पुस्ताले पार्टी चलाउँदा राजनीति प्रति युवाको आकर्षण बढ्न नसकेको भन्दै अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न लागिएको उनले बताए ।

युवाहरूलाई आश्वासन मात्र दिने तर नेतृत्व नदिने पुरानो परम्पराका विरुद्ध सम्पूर्ण जबज मान्ने युवाहरू एक ठाउँमा आएको उनको भनाइ छ ।

ओली समूहको नयाँ बन्ने पार्टीमा युवाहरूको उपस्थिति बलियो बनाउन यस बिचमा ४ चरण सम्म छलफल भइसकेको छ । राजनैतिक रूपमा नेकपा विभाजन नभई गत मङ्सिर १३ गते बराह क्षेत्र नगरपालिकाको सिसौलीमा युवा भेलाको आयोजना भएको थियो ।

पहिलो पुस्ताका शून्य उपस्थितिमा हुने भेलाले युवाहरू एक हुनुपर्ने सन्देश दिन खोजेको थियो । त्यसपछि पुस १० गते नेकपा जिल्ला पार्टी कार्यालयमा र पुस १३ र १५ गते इटहरीमा युवाहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बारे छलफल गरी सकेका छन् ।