इटहरी : इटहरीको पूर्वी पृतना मुख्यालय इटहरी अगाडी गाडीको जाम लाग्यो । केही छिनमै 'नेपाली सेना मुर्दावाद', 'हामीलाई न्याय दे' जस्ता नारा चर्किन थाले । त्यस लगत्तै नेपाल प्रहरीले आन्दोलन दबाउन खोज्यो । आन्दोलनकारीहरू मुख्यालय प्रवेश गर्न खोजिरहेका थिए तर नेपाली सेनाका जवानहरूले प्रवेश गर्न दिएनन् ।

६ महिना अघि नेपाली सेना २ नम्बर बाहिनी हिलेमा हवल्दारको रूपमा कार्यरत पर्शुराम भट्टराईको शङ्कास्पद मृत्युको घटनालाई लिएर परिवारले आन्दोलन गरेको हो ।

नेपाली सेनाको मुख्यालयमा किटानी जाहेरी दिन हिँडेका उनीहरूलाई सेनाले रोकेपछि आन्दोलनमा उत्रिएका हुन् । पतिको मृत्युपछि विछिप्त भएकी कमला सडकमा लडीन् ।

शारीरिक रूपमा अशक्त समेत रहेकी उनी केही क्षणमै बेहोस भइन् । त्यसपछि झनै आक्रोशित बनेको भिडले नेपाली सेनाका विरुद्धमा नारा लगाएको थियो ।

गत जेठ ५ गते गम्भीर घाइते भएका भट्टराईको जेठ १२ गते बिएमसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । रामधुनी नगरपालिका ३ सुनसरीका उनी जेठ ५ गते राति अचेत भई लडेको अवस्थामा फेला परेको भए पनि नेपाली सेनाले परिवारको जानकारी बिनै अस्पताल पुर्‍याएकोले घटना शङ्कास्पद भएको उनीहरूको भनाइ छ ।

परशुरामको हत्या नै भएको दाबी गर्दै कमलाले तत्कालीन बाहिनिपती सहित १४ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । तर नेपाली सेनाको मुख्यालयले उनको जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको छ ।

३८ बर्षीया परशुरामको ठाउँकोमा गहिरो चोट लागेका,दुवै आँखामा निल डाम, दाहिने हात र घुँडामा समेत चोट देखिएकोले आफूहरू सडकमा आएको परीवारीक श्रोतको भनाइ छ । यस अघि पनि पृतना अगाडी आफन्तहरूले प्रदर्शन गरेका थिए । आफन्तजनले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएका छन् ।

Sena-ko-birodh-1