धरान : राजश्व अनुसन्धान कार्यालय इटहरीले धरानको राम निवासमा छापा मारेर सिल गरेको छ ।

राजश्व चुहावट भएको सूचना राजश्व अनुसन्धान कार्यालय इटहरीमा आएको कारण बिहीबार दिउसो साढे ११ बजे राजश्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख दीपक खडकाको नेतृत्वमा आएको टोलीले छापा मारेको हो ।

धरान-१२ मा रहेको राम निवास भित्र ग्लोबल इम्पेक्स र एसएन इन्टरनेशनलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारी अनुसन्धान पुरा नहुन्जेल सम्मलाई सिल गरिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खडकाले बताए ।

हार्डवेयर सम्बन्धीका सामाग्रीहरूमा राजश्व छली गरी सामाग्री ल्याइएको विशेष सूचना राजश्व अनुसन्धान कार्यालयलाई प्राप्त भएकोले आवश्यक कागजपत्र खोजी गरिएको थियो ।

बिहान साढे ११ बजे देखि ५ बजे सम्म आवश्यक कागजपत्रहरू खोज्दा पनि फेला नपरेको प्रमुख खडकाले बताए ।

उनका अनुसार पसलमा कारोबार गरिएको आवश्यक कागजात, बिल विजक केही पनि फेला नपरेकोले सिल गरिएको हो । ग्लोबल इम्पेक्स र एसएन इन्टरनेशनलका प्रोप्राइटर किसन अग्रवाल हुन् ।

केकति राजश्व छली भएको हो भन्ने बारेमा अनुसन्धानको क्रममा रहेकोले भन्न नसकिएको बताइएको छ ।