धरान : धरान उपमहानगरपालिकाको वडानं. २० सालबोटेको पहिरोले सर्दु खोला पुर्दै गएपछि खोलाले धरान १३ तिर पनि क्षति पुर्याउन थालेकोले सो पहिरो नियन्त्रणका लागि बिहीबार अनुगमन गरिएको छ ।

सालबोटे तिरबाट झरेको पहिरोले सर्दु खोलालाई थुनेको कारण माटो थिग्रिनुको साथै धरान-१३ भारतीय पेन्सन पेईङ अफिस तिरको क्षेत्र कटान गरेपछि पहिरो रोकथाम र खोला नियन्त्रणका लागि कुरा उठाइएको थियो । पहिरो बढ्दै गएकोले खोला थुनिने जोखिम बढ्दै गएको र १३ नम्बर वडा तिर कटान बढेपछि करिब २ महिना अघि पहिरोको बारेमा अध्ययन गरिएको थियो ।

Pahiro-anugaman-3

अध्ययन टोलीले खोला र पहिरो नियन्त्रणका लागि गरेको अध्ययन अनुसार आज जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, धरान उपमहानगरपालिकाका वातावरण महाशाखाका अधिकृत भेषराज घिमिरे, १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, भारतीय पेन्सन पेईङ अफिसका मेजर अभिषेक र प्राविधिकहरूको टोलीले अनुगमन गरेको थियो ।

अध्ययन टोलीका अनुसार धरान २० र १३ दुवै तिर पहिरो र खोला नियन्त्रण गर्नका लागि १६० मिटर लम्बाइ र ३७ हजार ४ सय ८ घन मिटरमा पुरिएको माटो, ढुङ्गा गिटी निकाल्नुपर्ने हुन्छ । यसका लागि ठेक्काका लागि काम सुरु चाडै हुने वातावरण महाशाखाका अधिकृत भेषराज घिमिरेले बताए ।

Pahiro-anugaman-1

सो पहिरो र खोलाको कटान नियन्त्रणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्नका लागि चालु आर्थिक वर्षमै १ करोड बजेट छुट्टिइसकेको बताइएको छ ।

काम सुरु गर्नका लागि डिपिआर समेत अन्तिम चरणमा पुगेको छ भने अध्ययन टोलीका प्राविधिकहरूले अध्ययन गरे अनुसार काम गर्न ठेक्काका लागि सूचना निकाल्ने तयारी भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

Pahiro